‘सांगीतिक क्षेत्रको विकासलाई हेर्ने हो भने अहिले हामी स्वर्णिम युगमा छौँ ‘

समाचार डेस्क October 19, 2020
‘सांगीतिक क्षेत्रको विकासलाई हेर्ने हो भने अहिले हामी स्वर्णिम युगमा छौँ ‘

कस्तो छ यहाँलाई ?
अहिलेसम्म सञ्चै छु ।
यति बेला विश्वनै कोरोना भाइरसका कारण आहतमा छ, तपाईं यसबाट कत्तिको प्रभावित हुनुहुन्छ ?
विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोनाको कहरले सबैलाई झैँ मलाई पनि प्रभाव त पारेकै छ । तर, अहिलेसम्म संक्रमण भने देखिएको छैन, त्यहि ठूलो कुरा हो ।

कोरोनाले गीत संगीतको क्षेत्रलाई चाँही कत्तिको प्रभाव पारेको छ ?
अन्य क्षेत्र जस्तै गीत संगीत क्षेत्र पनि कोरोनाबाट ग्रसित नै छ । पछिल्लो समयमा गायक, गीतकार, संगीतकारहरुमा संक्रमण बढेको खबर पनि आइरहेका छन् । यो दुखद् कुरा हो ।

तर, हामी आत्मबल बढाएर कोरोनाको संक्रमणबाट बच्ने प्रयत्नमा छौँ । त्यसका लागि हामी सबैले व्यक्तिगत र पारिवारिक व्यवहारमा सुधार गर्न जरुरी छ ।

यसै पनि संगीतले आम मानिसलाई आत्मबल बढाउन मद्दत गर्छ । झन संगीतका साधकहरुलाई त गीत संगीत बनाउँदा, रियाज गर्दा एक किसिमको थेरापी जस्तै हुन्छ भन्ने विश्वव्यापी मान्यता पनि छ ।

हजारौँ मानिसहरु यतिबेला आइसोलेशनमा छन् । संगीतले एकान्तमा पनि उनिहरुलाई भिडमा भएको अनुभूति दिलाएको छ भन्ने मेरो मान्यता हो । आशा गरौँ, छिट्टै विश्व यो महामारीबाट बाहिर निस्कने छ । हामी फेरी नियमित दिनचर्र्यामा फर्कने छौँ ।

यो महामारीकै बीचमा पनि हजारौँको संख्यामा म्युजिक भिडियोहरु सार्वजनिक भएका छन्, लगानी उठ्ने अवस्था छ र ?
यसबीचमा पनि झण्डै १५ सय देखी २ हजार म्युजिक भिडियो बनेका छन् । यस अर्थमा भन्नुपर्दा अहिले पनि संगीत क्षेत्रमा करोडौँ रुपैयाँ लगानी भइरहेको छ । हो अहिले सामान्य अवस्था जस्तो छैन ।

तर, अहिलेको बजार भनेको डिजिटल बजार हो । त्यसैले डराईहाल्नु पर्ने अवस्था पनि छैन । राम्रा राम्रा गीत संगीतहरुले अहिले पनि लगानी उठाइरहेका छन् । विभिन्न एप्स एवं सीआरबीटी, सामाजिक संजाल, टीकटक आदिले पनि यो क्षेत्रलाई निकै मद्दत गरेको छ ।

तर, सबैले रामै्र आम्दानी गरिरहेका छन् भन्ने चाँही होइन । यस क्षेत्रमा शोख र रहरले लगानी गर्नेहरु पनि छन् । उनीहरुलाई लगानी नउठ्लाकी भन्ने चिन्ता हुँदैन ।

तर, व्यावसायीक हिसाबले लगानी गर्नेहरुले बजार अध्ययन गरेर दर्शक स्रोताको चाहना अनुसारको गीत संगीत बनाउने हुँदा डुब्ने खतरा त्यति हुँदैन ।

भिड बटुलेर म्युजिक भिडियो बनाएको देखिन्छ, यसो गर्दा जोखिम हुँदैन र ?
जोखिम मात्र होइन, उच्च जोखिम छ । तर, कोरोनाले अस्तब्यस्त भएको मानिसको मानसिकता सामन्य अवस्थामा फर्काउन यस क्षेत्रमा लागेकाहरुले मोलेको जोखिम हो यो ।

यस क्षेत्रमा लागेका कतिपय साथीहरुको रोजीरोटीको कुरा पनि छ ।

उहाँहरुको रोजीरोटीका लागि भए पनि जोखिम उठाउन बाध्य भएका छौँ । तर, हामीले सबै साथीहरुलाई अधिकतम सुरक्षा उपाय अपनाउन आग्रह गरिरहेका हुन्छौँ ।

अहिलेको अवस्था हेर्दा चाँडै नै कोरोनाको समस्या समाधान होला जस्तो देखिँदैन, यस्तोमा म्युजिक प्रोड्युसर एशोसिएशनले आगामी दिनमा कसरी अघि बढ्ने योजना बनाएको छ ?
अहिलेको अवस्थामा नयाँ सृजना बनाउने विषयमा समस्या छ । त्यसैले हामीले बनिसकेका गीतसंगीतको बजारीकरणमा बढी ध्यान दिएका छौँ । म्युजिक प्रोड्युसर एशोसिएशन त्यत्तिकै बसिरहेको भने छैन ।

गीत संगीतको राष्ट्रिय एवं अन्तरराष्ट्रिय बजारसम्म बजार व्यवस्थापनका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । सामाजिक सञ्जालहरु मोनिटाइज गर्ने प्रयास पनि गरिरहेका छौँ ।

त्यसैगरी एशोसिएशनका सदस्यहरुलाई परामर्श, जुम मिटिङ आयोजना गरेर साथीहरुलाई परेको समस्यामाथी छलफल आदि भइरहेको छ । कुनै जटिल समस्या परेको खण्डमा हामी एकै ठाउँमा उभिएर सहयोग गर्न पनि तयार छौँ ।

नेपालको सांगीतीक क्षेत्रको विकासको चरणलाई हेर्दा अहिले हामी कहाँ छौँ ? केबल कलाकार भएर बाँच्न सकिने अवस्था आयो ?
नेपालको सांगीतीक क्षेत्रको विकासको चरणलाई हेर्ने हो भने अहिले हामी स्वर्ण युगमा छौँ । हिजो नेपालको एक मात्र राष्ट्रिय प्रशारण रेडियो नेपालमा गीत बज्ने पालो कुरेर बस्थ्यौँ ।

त्यसपछि बामे सर्दै टेप रेकर्डरसम्म पुग्यौँ । एफएम रेडियो आए पछि गीत संगीतको बजार अझै फराकिलो हुँदै गयो र इण्टरनेटको विकाससँगै अहिले हामी विश्वको विकसित मुलुकले जहाँबाट अफ्ना सांगीतिक उत्पादन रिलिज गर्छन् त्यहीँबाट गर्नसक्ने हैसियतमा पुगेका छौँ । त्यसैले हामी स्वर्ण युगमा छौँ ।

प्रविधीको विकासले अहिले यो क्षेत्र यति फराकिलो भएको छ कि राम्रा राम्रा गीत संगीत रिलिज भएको एक दिन भित्रमै लगानी उठाउने अवस्थामा पुग्छन् । जसले गर्दा यस क्षेत्रमा भएको लगानी सुरक्षित हुने अवस्था आइरहेको छ ।

कलाकारहरुको पनि आर्थिक हैसियत सुदृढ हुँदै गएको छ । तर, सबै गीत संगीतले लगानी उठाउँछन् भन्ने चाँही हुँदैन । तर, व्यावसायीक हिसाबले बजारको अध्ययन गरेर आएका उत्पादनहरु तुलानात्मक रुपमा बढी चल्छन् ।

तर, गीतहरु बढी व्यावसायीक बन्दै गर्दा मौलिकता हराउँदै गएको गुनासो पनि आइरहेका छन् नी, यो साँचो हो ?
तुलनात्मक रुपमा मौलिक गीत संगीतको उपस्थिती कम भएको साँचो हो । वर्षाको च्याउ जसरी आउने र हराउने गीत पनि छन् । सामान्यतया गीत संगीत शोख, रहर, देखासिकी र व्यावसायिक गररे ४ किसिमबाट बन्छन् ।

शोखले बनाएका गीतहरुको लगानी नउठे पनि उनिहरु बिचलित हुँदैनन् । त्यसैगरी रहर र देखासिकीमा बनाएका अधिकांश गीतहरु बजारबाट चाँडै हराउँछन् ।

त्यसमध्येमा पनि कहिलेकाँही राम्रा उत्पादन पनि देखापर्छन् । तर, व्यावसायीक रुपले गीत संगीतहरु निर्माण गर्दा धेरै कुरामा ध्यान दिइएको हुन्छ । बजारको चाहना, शब्द, संगीत, गायकको गायन स्तर आदिलाई विशेष ध्यान दिइएको हुन्छ ।

त्यसैले व्यावसायीक हुँदैमा मौलिकाता हराउँछ भन्ने हुँदैन । र मौलिक गीतहरु हराउँछन् भन्ने पनि लाग्दैन ।

अन्तमा, गायक प्रमोद खेरल र विन्द्यवासिनी म्युजिकका सञ्चालक (गीतकार एवं लगानीकर्ता) सुवास रेग्मीबीचको रोयल्टि विवाद सुल्झियो ?

सबैभन्दा पहिला बुझ्नु पर्ने विषय के छ भने यो रोयल्टिसँग सम्बन्धित विवाद हुँदै होइन । यो विवाद भनेको प्रोड्युसर सुवास जी र गायक प्रमोदजी बीच दुवैले विवादित भनिएको गीतसंगीतको उपयोग गरेर कमाएको पैसाको हिसाब पारदर्शी नभएको विषयबाट सृजना भएको हो । यसमा दुवै पक्षले उक्त गीतको ट्रयाक आफ्नो हो भन्ने दावी गरिरहेका छन् ।

यहि विषयलाई लिएर सुवासजीले खरेलजी विरुद्ध १ करोड क्षतीपूर्ति माग गर्नु भएको हो । विवाद मिलाउन म्युजिक प्रोड्युसर एशोसिएशनका अध्यक्ष, गीतकार संघ नेपालका अध्यक्ष,

संगीतकार संघ नेपालका अध्यक्ष, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष, संगीत तथा चलचित्र उत्पादक संघका अध्यक्ष लगायतको रोहबरमा प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भएको छलफलमा ठोस निर्णय हुन सकेन ।

त्यस पछि यो विषयलाई प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयले छानबिनका लागि प्रहरी परिसर टेकुमा पठाएको छ । एक चरणको छलफल पछि यो मुद्दा अदालतमा पुग्नेछ र अन्तिम फैसला त्यहिँबाट हुन्छ ।

यसमा म्युजिक प्रोड्युसर एशोसिएशनको धारणा चाँही के छ त ?

यस्ता विषयहरु बेलाबेलामा आइरहन्छन् । प्रोड्युसरहरुले उत्पादन गरेको ट्रयाक बिना अनुमति प्रयोग गर्नु गैह्र कानुनी र निन्दनिय कार्य हो । अहिले उठान भएको विषय समग्र गीत संगीत क्षेत्रमा मिल्दो जुल्दो देखिन्छ । उक्त मुद्दाको टुँगो लागेसँगै त्यसले एक किसिमको थिती बसाउँछ भन्ने अपेक्षा छ ।

अर्को कुरा मानिसको मानसिकतामा सास फेर्नु र घाम ताप्नु जस्तै गीत संगीत सुन्न पनि सित्तैमा पाइने कुरा हो भन्ने छ । उक्त गीत बनाउँदा कसैले ठूलो लगानी दाउमा राखेको छ भन्ने विर्षनु हुँदैन ।

फेरी कुनै गीतको चर्चा हुँदा गायकको मात्र नाम आउँछ । गायकबाहेक अरु सबै गुमनाम हुन्छन् । अझ कतिपय कार्यक्रमहरुमा सित्तैमा गीतसंगीत बजाइरहेको भेटिन्छ । यो कानुनत अपराध हो ।

तर हामीमा त्यस्तो टे«ण्ड बसिसकेको छैन । अहिले प्रतिलिपि अधिकार ऐन एकातिर र बजार अर्कोतिर भइरहेको अवस्था छ ।

ऐन बमोजिम संगीत सृजना गर्ने सर्जकहरुको अधिकार सुरक्षित हुँदै अघि बढ्ने हो भने बजार स्वतः व्यवस्थित हुन्छ ।

तर, उद्योग बाणिज्य संघहरुबाट हुने विभिन्न मेला महोत्सब लगायत कार्यक्रमहरुमा प्रस्तुत हुने गीतसंगीत अनाधिकृत रुपमा प्रयोग भइरहेको पाइएको छ ।

त्यसैगरी टेलिभिजनमा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरुमा समेत गीत संगीतको अनाधिकृत प्र्रयोग भइरहेको छ । यसको विरुद्धमा हामी निकट भविश्यमै त्यसरी प्रयोेग हुने गीतसंगीतको क्षतिपूर्ति माग दावी गर्ने योजनामा छौं ।

अन्तमा, कहिँ गीत संगीत प्रयोग गर्नुछ भने पूर्व स्विकृति लिएर रोयल्टी बुझाएर मात्र बजाउन आग्रह समेत गदैछु ।