कोरोना कहर : कौशीमै सिमित भयो तीजको लहर

News Desk August 22, 2020
कोरोना कहर : कौशीमै सिमित भयो तीजको लहर
-रामेश्वर धिताल

भदौ ६, नुवाकोट ।
यो वर्षका तीज करीब करीब आधा बितिसकेको छ । भोलि अर्थात ऋषि पञ्चमीका दिन नुहाएर पूजा गरी व्रत उद्यापन गरे पश्चात् यो वर्षको तीज सकिन्छ । अघिल्ला वर्षहरु तीजका अवसरमा खचाखच हुने देवालयहरु यो वर्ष सुनसान रहे ।

बरु, आँगन र कौशीहरुमा तीजको गीत घन्कियो । त्यसैमा आफ्नै परिवारका कोहीले ताली बजाए कोही नाचे । शुक्रबार हरितालिका तीजका दिन यो दृष्य सबैजसो घरमा देखिन्थ्यो ।

विश्वलाई आक्रान्त परिरहेको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणले यस वर्षको तीजलाई निकै प्रभावित बनायो । अघिल्ला वर्षहरु तीजका दिन मात्र होइन झण्डै महिना दिन अघि देखि राता हरिया पहिरनमा महिलाहरु तीजका कार्यक्रममा व्यस्त देखिन्थे । घर घरमा र संघ संस्थाहरुमा दर खाने कार्यक्रमको प्रतिष्पर्धा जस्तै हुन्थ्यो । तर यो वर्ष सडक र बाटाहरु प्रायः सुनसान नै रहे ।

यो वर्षको तीजको लहरलाई कोरोना कहरले नै जित्यो । मानिसहरु संयमित भएकाले तीजमा हुनसक्ने कोरोना संक्रमण पक्कै केही घटेको कतिपयाको बुझाई छ । दुप्चेश्वर गाउँपालिकाकी उपप्रमुख अन्जु आचार्य भन्छिन्, ‘तीज त अर्को वर्ष पनि आउँछ तर, संयमित भएनौ भने अर्को वर्षको तीज मान्न हामी रहँदैनौ, त्यसैले जहाँ छौँ त्यहाँ र जे छ त्यहिबाट तीज मनाऔँ ।’

बढ्दो कोरोना संक्रमण सँगै शहरमा मात्र होइन गाउँ गाउँमा पनि तीजको लहर त्यति उल्लासमय देखिएन । कोही कोही नजिकको मन्दिरसम्म पुगे पनि नाचगान र रमझम भएन । व्रत वस्दा गरिने नाचगानले मानिसलाई मानसिक रुपमा ‘डाइभर्ट’ गर्ने भएका कारण समय वितेको पत्तै नहुने महिलाहरु बताउँछन् ।

यो वर्ष भने त्यस्ता कार्यक्रममा सहभागी हुन नपाउँदा दिन काट्न अलि गाह्रो भएको नुवाकोट विदुरकी राधिका अधिकारी (सापकोटा) बताउँछिन् । ‘मन्दिर जान नमिल्ने भए पछि हामीले घरमै रमाइलो गर्यौँ,’ उनले भनिन् ।

काठमाडौं कपनकी अस्मिता मिश्रको पनि सापकोटाको जस्तै अनुभव छ । ‘लकडाउन हुनु अघि माइत आएकी थिएँ र तीज माइतीमै मनाउने अवसर मिल्यो । तर, यहाँ पनि आमाछोरीमै सिमित भयो तीज,’ उनले भनिन् ।

शुक्रबार काठमाडौं लगायत शहरी क्षेत्रमा छुट्टै रामरमिता देखियो । हरेक घरका महिलाहरु आअफ्ना छतमा निस्केका थिए । हुनेले उफर लगायत साउण्ड सिस्टम बजाएर त त्यसको व्यवस्था नहुनेले ताली बजाएरै भए पनि नाचगान गरे । छतबाटै छिमेकीसँग शुभकामना साटासाट गरे ।

वल्लो पल्लो घरमा एक किसिमकोे प्रतिष्पर्धा जस्तै दृष्य देखिएको काठमाडौं फुटुङका सुबोध मिश्रले सुनाए । उनी भन्छन्,‘राता पहिरनमा सजिएका महिलाहरु कौशीमा निस्कँदा शहरका हरेक घरमा लालिगुराँस फुलिरहेको जस्तो लाग्थ्यो ।’