२० प्रतिशत बेड कोरोना संक्रमितलाई नछुट्याए अनुमति रद्ध गर्ने चेतावनी

News Desk August 19, 2020
२० प्रतिशत बेड कोरोना संक्रमितलाई नछुट्याए अनुमति रद्ध गर्ने चेतावनी

भदौ ३, काठमाडौं ।

नेपालमा संचालित निजी अस्पतालहरुलाई २० प्रतिशत बेड कोरोना संक्रमितहरुलाई छुट्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना संक्रमितहरुको उपचारका लागि अनिवार्य रुपमा कम्तिमा २० वटा बेड नछुट्ए पीसीआर परिक्षणका लागि दिइएको अनुमति समेत खारेज गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले केही समय अघि सबै अस्पतालहरुलाई २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिएको थियो ।

केही निजी अस्पतालहरुले उक्त निर्देशन पालना गर्न आनाकानी गरेको भन्दै मन्त्रालयले चेतावनी दिएको हो । यसबाहेक मेडिकल कलेजहरुले एक तिहाइ बेड कोरोनाको उपचारका लागि छुट्याए उनीहरुले पनि पीसीआर परीक्षणका लागि अनुमति पाउने उनले बताए । मेडीकल कलेजहरुलाई पनि एक तिहाइ बेड छुट्याउन मन्त्रालयले यस अघि नै निर्देशन दिइसकेको छ ।

केही समय यता नेपालमा कोरोना संक्रमणको दर बढ्दै गइरहेको छ । बुधबार सम्ममा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा मात्र देशभर ६८१ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

देशभर कोरोनाको संक्रमण बढ्दै गएका कारण भोली अस्पतालहरुले थेग्न नसक्ने अवस्था आउनसक्ने सम्भावना बढेको छ । त्यस्तो अवस्थामा निजी अस्पताहरुले कोरोना संक्रमितको उपचार गर्न सक्दिन भन्न नपाउने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । कोरोनाको संक्रमण समुदाय स्तरमा पुगिसकेका कारण सरकारलाई थप चुनैती बढेको छ ।

आगामी दिनहरुमा अरुनै किसिमका बिरामीहरु पनि अस्पतालमा पुगेर संक्रमित हुन सक्ने भएका कारण त्यस्तोमा उनीहरुको उपचार गर्दिन भन्न नमिल्ने उनी बताउँछन् ।