अलविदा राष्ट्रकवि !

News Desk August 19, 2020
अलविदा राष्ट्रकवि !

एउटा संयोग: उता राष्ट्रिय झण्डा जल्यो यता राष्ट्रकवि…

-रामेश्वर धिताल

भदौ ३, नुवाकोट ।
मंगलबार साँझ न्युज पोर्टल र सामाजिक सञ्जालहरुमा राष्ट्रिय झण्डा जलाइएको विषयको तितो पोखिएको थियो मोबाइलको स्क्रिनमा सामाजिक सञ्जालका पोष्टहरु स्क्रल गर्दै जाँदा एकजना पत्रकार मित्रको स्ट्याटस देखँे । मात्र तीन मिनेट अघि गरिएको पोष्टमा लेखिएको थियो–‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसान !’ । संयोग पनि कस्तो यता राष्ट्रिय झण्डा जलेको थियो उताबाट राष्ट्रकवि ब्रम्हलिन भएको खबर आयो ।

मोबाइलको स्क्रिनमा चिप्लिरहेका मेरा हातहरु टक्क अडिए । एकछिन विश्वास लागेन । लेख्ने मान्छे अविश्वासी पनि थिएनन्, तैपनि धेरैवटा न्युज पोर्टलहरु चहारेँ, यतिबेलै अनलाइन खबरले लेख्यो, राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन !
केहीबेरमै सामाजिक संजाल, न्युज पोर्टल र अन्य सञ्चार माद्यमहरुमा राष्ट्रकविले पञ्चभौतिक शरिर त्याग गरेको खबर आउन थाल्यो । श्रद्धान्जलीको सगरमाथा बन्यो । र मैले पनि श्रद्धान्जलीमा मन मनै यत्ति भनेँ अलविदा राष्ट्रकवि…।

मनको कुनै कुनामा अमिट छाप जस्तो भएर बसेका राष्ट्रकविको वैकुण्ठ यात्राको खबरले भित्र भित्रै यौटा अनौठो छटपटि भइरह्यो । उनले थर्थराउँदो आवाजमा भनिरहेजस्तो लाग्यो, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे…। राती सुतीसके पछि पनि निदाउन सकिन । केही लेखुँ जस्तो पनि भयो । उठेर लेख्न बस्दा शब्दहरु यसरी छरपष्ट भएकी मानौ त्यसलाई सँगाल्ने हिम्मत नै भएन ।

छाया आज पर्यो, छिप्यो छवि कहाँ के देख्नु मैले पर्यो ।

आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्यो ।।

राष्ट्रकविले गौरी शोककाब्यमा शोकै शोकले मन विक्षिप्त हुँदा पनि कति सरल तरिकाले लेखिदिए यी हरफहरु । तर, म सामान्य मान्छेमा त्यो तागत कहाँ र युग पुरुष घिमिरेमा जस्तो । त्यसैले निकैबेर यता उता चारैतीर छरिइरहे अक्षरहरु ।
नेपाली साहित्यको आकाशमा कुशल नेपाली साहित्यकार, कवि र गीतकार को रुपमा लामो उडान भरेका कविको पञ्च भौतिक शिरिर यतिबेला माटोमा मिलिसकेको छ । आर्यघाट तटको चिता सेलाइसक्यो होला, तर नेपाली साहित्य सागरमा उनको योगदान कहिल्यै सेलाउने छैन ।

अहिले पनि राष्ट्रकविको थर्थराउँदो आवाज कानमा गुन्जीरहेको छ । उनका कालजयी कृतिहरु अक्षर बनेर आँखै अगाडी घुमिरहेका

छन् । मन भित्रका ससाना वेगहरुलाई समेत अक्षरमा उतार्ने खुवी भएका घिमिरेका कृतिहरुमा समय र परिवेश चित्रण चलचित्रझैँ छर्लङ्ग हुन्छ । त्यसैले त मालती मंगलेका अनुहारहरुमा त्यसबेलाको प्रतिबिम्ब देख्न सक्छौँ । स्वच्छन्दतावादी र परिष्कारवादी दुवै धारालाई उत्तिकै मायाँ गरेर साहित्य क्षेत्रमा छुट्टै स्तम्ब खडा गरेका घिमिरे इतिहासमै दुर्लव व्यक्तित्व हुन् ।

१ सय १ वर्षको लामो जीवन बिताएर गएका कविले जीवनकालमा धेरै उतारचढाव भोग्नु पर्यो । काखमा रमाउने उमेरमा टुहुरो बनेका कविले धुमिल स्मृतिमा मात्र आमा पाए । लमजुङको पुस्तुन गाउँदेखी कान्तिपुरी नगरीसम्मको यात्रामा उनले धेरै पाए र त्यो भन्दा बढी गुमाए । सानैमा आमा गुमाएका राष्ट्रकविले वि.सं. २००५ मा अर्को बज्रपात सहनुपरयो । धर्मपत्नी गौरीको देहावसानसँगै उनको संसार भाषियो । स–साना कोपीलाहरु शान्ती र कान्ती टुहुरा भए । र त्यहि बियोगको कथाले बन्यो गौरी शोककाब्य ।

छोई भूतललाई इन्द्रधनुले लाखौँ सिँगारे पनि,
रातीका सपना बिहान बिउँझी साँचा बनाए पनि ।
मान्छेलाई मिले पनि अजमरी खोजेर सञ्जिवनी,
फर्कन्नौ यस लोकमा, जुन गयो यो गैगयो जीवनी ।।

केही समययता बिरामी भएका घिमिरेले मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा माथीका हरफहरुमा झैँ यस धरालाई छोडेर गए । दुई वर्ष अघि ठूलो बिरामी परेका कविले मृत्यु जिते, तर यसपटक सकेनन् । राष्ट्रकवि घिमिरेलाई केही महिना अघि देखी स्वास प्रस्वासमा समस्या देखिएको थियो । उनकै इच्छा अनुसार करीब ४ महिना घरमै अक्सिजन दिएर राखिएकोमा अन्तत भदौ २ गते मंगलबार आफ्नो चोला बिसाए । सताब्दीभन्दा बढीको उमेर लिएर आएका कविले पछिल्लो समय २ वर्ष अघि बिरामी पर्दाको जस्तो आत्मबल देखाएनन् । उनले आफ्नो समय सकिएको अनुभूति गरेका हुनुपर्छ । लाग्दथ्यो यो उनके इच्छा मरण हो ।

नेपाली साहित्यमा लेखनाथको परिस्कारवादी धारा र लक्ष्मीप्रसादको स्वच्छन्दतावादी धाराको मध्यमार्गी बाटो बनाएका कवि घिमिरेले ऋतम्भरा महाकाव्य भने पूरा गर्न भने पाएनन् । सताव्दि लामो जीवनयात्रामा थाकेका कविले त्यो एउटा कृति भने अपुरो नै छाडेर गए । तर, हामीलाई उमेर जस्तो इच्छाशक्ति बुढो हुँदैन सिकाएर गए ।

घिमिरेका नव मञ्जरी, गौरी ९शोककाव्य०, मालती मङ्गले,९गीतिनाटक०, हिमालपारि हिमालवारि ९गीतिनाटक०, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी ९गीतसङ्ग्रह०, चारु चर्चा ९निबन्ध०, आफ्नो बाँसुरी आफ्नै गीत ९निबन्ध० लगायतका कृति चर्चित छन् ।
छन्दको सरमा रमाउने उनी स्वच्छन्दतावादी धारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। बाल्यावस्थादेखि निरन्तर नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा घिमिरे केही महिना अघिसम्म अस्वस्थ हुनुभन्दा अघिसम्म पनि कलम चलाउँदै थिए ।

ुगाउँछ गीत नेपालीु का साथै तारादेवीले गाएको ुमनको बाँधु चलचित्रको ुफूलको थुङ्गा बगेर गयोु तथा नारायणगोपालले गाएको ुआजै र राति के देखेँ सपनाुजस्ता कालजयी गीतका सर्जक घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो । यसबाहेक उनले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए । राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका थिए ।

यीसबै भन्दा महत्वपूर्ण कुरा सम्पूर्ण नेपालीमा राष्ट्रियताको बीउ रोपेका थिए । भाइचाराको सम्बन्ध बोध गएकाएका थिए । त्यसैले त उनले जीवनपर्यान्त भनिरहे–नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे । आफू यस संसारबाट गए नेपालीहरुमा एउटा अनौठो जोस भरेर गए । एउटा कर्तव्य बोध गराएर गए । त्यसैले त नेपाली इतिहासबाट राष्ट्रकवि घिमिरेको अध्याय कहिल्यै मेटिने छैन । उनी अस्ताए पनि नेपाली साहित्य आकाशको त्यो चम्किलो नक्षत्र उनका कृतिका रुपमा हामीमाझ चम्किरहने छ । भौतिक शरिर त्यागेका कविको आत्मा ब्रम्हलिन होस् अलविदा… ।