दुप्चेश्वर गाउँपालिकामा अत्यावश्यक बाहेक सवै सेवा बन्द

समाचार डेस्क August 10, 2020
दुप्चेश्वर गाउँपालिकामा अत्यावश्यक बाहेक सवै सेवा बन्द

२६ साउन, नुवाकोट ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले अत्यावश्यक बाहेक सवै सेवा बन्द गरेको छ ।

समुदायमा कोरोना संक्रमण देखिएका कारण थप संक्रमण फैलन नदिन अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत छात्र बहादुर अधिकारीले जानकारी दिए ।

दुप्चेश्वर गाउँपालिकाको समुदायस्तरमै कोरोना संक्रमण देखिए पछि गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको निर्णयबाट बन्दको सूचना सार्वजनिक गरिएको हो । देशभर कोरोना संक्रमित बढ्दै गएपछि दुप्चेश्वर गाउँपालिकाले धेरै मानिससँग सम्पर्क भइरहने व्यक्तिहरुको पीसीआर परिक्षण गराएको थियो ।

यस क्षेत्रको समुदाय सुरक्षित छ कि छैन भनेर पीसीआर परिक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङले बताए । ‘हामीले संक्रमितहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको समेत पीसीआर परिक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसँग आग्रह गरिसकेका छौँ । दुप्चेश्वर गाउँपालिकालाई सुरक्षित राख्न हामी सदैव तत्पर छौ,’ उनले भने ।

समुदायस्तरमा कोरोना संक्रमणको अवस्था बुझ्न दुप्चेश्वर गाउँपालिकाले स्वावको नमुना पठाउँदै आएको थियो । पछिल्लो पटक गरिएको परिक्षणमा पोजेटिभ देखिएपछि दुप्चेश्वर गाउँपालिकाले संक्रमितहरुको खोजी कार्यलाई तिब्रता दिएको छ । कोरोना संक्रमण पुष्टि भएकासँग सम्पर्कमा आएका अन्य व्यक्तिहरु भेटिएसँगै आवश्यकता अनुरुप ती सबैको पीसीआर गरिने तामाङ बताउँछन् । गाउँपालिकाले सम्पर्कमा आएका व्यक्तिको खोजीसँगै उनीहरुलाई क्वारिन्टिनमा राख्ने व्यवस्था समेत मिलाईसकेको छ ।

दुप्चेश्वर गाउँपालिकाबाट साउन २३ गते ७ जना पुरुष र ४ जना महिलाको स्वाव परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको थियो । साउन २६ गते आएको स्वाव परिक्षण रिपोर्टमा पालिकाको वडा नं। ४ का एकजना र वडा नंं ६ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।वडा नं. ६ का एकजना समुदायका व्यक्ति हुन् भने अर्को ६ दिन अघि दुवईबाट आएका थिए । दुवईबाट आएका व्यक्ति दुप्चेश्वर गाउँपालिकाकै क्वारेन्टिनमा बसेका थिए ।
दुप्चेश्वर गाउँपालिकाका संक्रमितहरु लाई तादी गाउँपालिका स्थित खरानिटार अस्पतालको अईसोलेसनमा राखीने तयारि गरिएको छ ।