नुवाकोटमा पहिलो ‘थ्री स्टार’ होटल खुल्दै

News Desk August 8, 2020
नुवाकोटमा पहिलो ‘थ्री स्टार’ होटल खुल्दै

साउन २४, नुवाकोट ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा जिल्लामै पहिलो तीन तारे (थ्री स्टार) होटल खुल्ने भएको छ ।
गाउँपालिकाको वडा नं. ७ स्थित शिखरवेशी नजिकै होटल कोटबारीका नामबाट ‘थ्री स्टार’ होटल सञ्चालनमा आउन लागेको हो ।

करीब १० करोड ५० लाख रुपैयाँ लगानी रहेको उक्त होटल एक वर्ष भित्रमा सञ्चालनमा आउने होटलका सञ्चालक शुशिल खड्काले जानकारी दिए । उनले भने, ‘हामी तारे होटलको मापदण्ड भित्रका सबै सुविधा उपलब्ध गराउने छौं ।’
नुवाकोटमा उद्योग बाणिज्य संघमा दर्ता भएका साना ठूला गरी करीब १ सय ५० होटल सञ्चालनमा छन् । यसमध्ये सबैभन्दा ठूलो लगानी होटल वाटर टावरमा गरिएको छ ।

 

होटल वाटर टावरमा पर्यटन सहकारी मार्फत् ११ करोड रुपैयाँ लगानी गरिएको नुवाकोट उद्योग बाणिज्य संघका उपाध्यक्ष गीता अमात्यले दुप्चेश्वर न्युजलाई बताइन् । नुवाकोटमा १ करोड रुपैयाँ भन्दा बढी लगानी भएका करीब ५० वटा होटल सञ्चालनमा छन् ।

नुवाकोट जिल्लाका उत्तरपूर्वी क्षेत्रमा होटल व्यवसायमा करोड भन्दा बढीको लगानी हुन लागेको यो नै पहिलो पटक हो । जिल्लाको ककनी आसपासका क्षेत्रमा भने पछिल्लो समय होटल व्यवसाय निकै फस्टाएको उपाध्यक्ष अमात्य बताउँछिन् ।

‘ककनी क्षेत्रका होटलहरुले दिने सेवा र सुविधा तुलनात्मक रुपमा राम्रोे छ,’ उनले भनिन् ‘यस क्षेत्रमा होटल व्यवसायमा लगानी समेत बढ्दो छ ।’ यसबाहेक जिल्लाको सदरमुकाम विदुर आसपासका क्षेत्रमा पनि करोड भन्दा बढी लगानीका होटलहरु सञ्चालनमा छन् ।

दुप्चेश्वर मन्दिरबाट करिब ५ सय मिटरको दुरीमा बन्ने होटल कोटबारीले दुप्चेश्वर मन्दिरमा आउने दर्शनार्थीका लागि समेत सहज बातावरण बनाउने खड्काको भनाई छ । होटलले आफ्नो स्तर व्यवस्थापनका साथै सर्वसाधारणका लागि समेत विशेष व्यवस्था मिलाउने योजना बनाएको छ ।
खड्का भन्छन्,‘सबै ग्राहाक तारे होटलको खर्च धान्न सक्ने नहुन पनि सक्छन्, त्यसैले हामी सामान्य ग्राहाकका लागी समेत छुट्टै व्यवस्था मिलाउने छौँ ।’ होटल अन्तरगत बन्ने रेष्टुराँ भने आगामी ६ महिना भित्रमा सञ्चालनमा आइसक्ने उनको भनाई छ ।
सानो पहाडी थुम्कोमा बन्न लागेको उक्त होटलको भौतिक निर्माणको काममा कोराना भाइरसको फैलँदो सक्रमणका कारण केही समस्या देखिएको छ । यद्यपि समस्या घट्ने वित्तिकै निर्माणकार्यले तिब्रता पाउने खड्काले बताएका छन् ।

होटल कोटबारीलाई धार्मिक पर्यटनसँगै कृषि र पर्यटनलाई समेत एकसाथ जोडेर एग्रो टुरिजमको अवधारणाबाट अघि बढाउने सोचका साथ सञ्चालन गर्न लागिएको बताइएको छ । यसका लागि खड्काले होटलसँगै कोटबारी कृषि फार्म समेत सञ्चालन गरिरहेका छन् ।
२०७१ सालबाट कृषि क्षेत्रमा समेत हात हालेका खड्काले कोटबारी कृषि फार्ममा करीब ८२ लाख रुपैयाँ लगानी गरिसकेका छन् । उनको फार्ममा किवी, अलैँची, पाउलोनिया लगायत विरुवाहरु हुर्किरहेको देख्न सकिन्छ ।

 

लामो समयदेखी पर्यटन व्यवसाय र समाजसेवामा सक्रिय खड्काले अबका दिनमा भने आफ्नै जन्मथलोबाट व्यावसाय विस्तार गर्ने योजना बनाएका हुन् । खड्का भन्छन्,‘पैसा मात्र कमाउनका लागि हजार उपाय छन् । मेरो उद्देश्य भनेको यो क्षेत्रकै उन्नती हुने काम गर्नु हो ।’
सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय खड्काले केही समय अघि मात्र दुप्चेश्वर गाउँपालिका वडा नं. ७ मा पर्ने नागी खोलामा आफ्नै लगानीमा झोलुंगे पुल समेत बनाइदिएका थिए ।

होटल सञ्चालन सँगै पर्यटन प्रवद्र्धनका लागि छुट्टै किसिमको प्याकेज बनाउन लागिएको खड्काले बताएका छन् । होटलले पर्यटकहरुलाई शुरुमा दुप्चेश्वर दर्शन गराई त्यसपछि सागरकुण्ड, सूर्यकुण्ड र गोसार्इंकुण्ड जस्ता धार्किक एवम् पर्यटकिय स्थलहरुसम्म पदयात्राको छुट्टा छुट्टै प्याकेज बनाउने योजना बनाएको छ ।

 

खासगरी, रमणीय स्थलहरुको दृष्यावलोकन, धार्मिक स्थलहरुको भ्रमण, देशमै प्रख्यात स्थानीय समुन्द्रफिनीको चामल, तादी खोलाको असला माछा र अन्य स्थानिय कृषि उत्पादनहरुको स्वाद यस होटलको आकर्षण हुनेछन् । यसबाहेक होटलले दिने अन्य सेवा र सुविधामा समेत विशेष ख्याल गरिने खड्काले बताए ।