नेपालमा ‘एग्रो टुरिजमको ट्रेन्ड,

समाचार डेस्क July 29, 2020
नेपालमा ‘एग्रो टुरिजमको ट्रेन्ड,

रामेश्वर धिताल
साउन १४, नुवाकोट ।
केही वर्ष यता नेपालमा ‘एग्रो टुरिजम’ (कृषि–पर्यटन) क्षेत्रमा व्यवसायीहरुको लगानी बढ्दै गएको छ । आम मानिसमा ‘फार्म स्टे’ प्रतिको आकार्षणले व्यवसायीहरुका लागी नयाँ सम्भावनाको ढोका खोलिदिएको हो ।

तर, अस्पष्ट नीति, सम्वन्धित मन्त्रालयहरुबीच समन्वय अभावका जस्ता कारण एग्रो टुरिजमको व्यावसायिक भविष्य कस्तो हुन्छ भन्ने व्यवसायीहरुमा अझै अन्यौल छ । तर, बजारमा हुने कृषिमा आधारित उत्पादनको माग र आपूर्तिबीचको गहिरो खाडलले कृषि व्यवसायको भविष्य भने प्रष्ट पारेको छ ।
पूर्व तयारी र व्यावसायीक योजना सहित यस क्षेत्रमा प्रवेश गर्नेहरुको व्यावसायीक सफलताको दर तुलनात्मक रुपमा बढी छ । यस किसिमका लगानीकर्ताहरुले नेपालको कृषि क्षेत्रमा नयाँ नयाँ मोडेलहरु समेत अवलम्बन गरेको देख्न सकिन्छ । यसमध्ये ‘इन्टिग्रेटेड फार्मिङ’ र ‘मल्टि लेयर फार्मिङ’ यस अघि नै अभ्यास भइसकेका कृषि प्रणाली हुन् ।

पछिल्लो समय व्यावसायीक कृषकहरुले कृषिलाई पर्यटनसँग जोडेर नयाँ नयाँ मोडेलहरु समेत अवलम्बन गर्न थालेका छन् । ‘फार्मस्टे’, र ‘एग्रो टुरिजम भिलेज’ हाल संचालनमा आउन थालेका नविनतम मोडेल हुन् । कुनै एउटा मात्र व्यवसायलाई अघि बढाउनु भन्दा एकिकृत कृषिको अवधारणामा व्यवसाय गर्दा लगानी बढी सुरक्षित हुने व्यवसायीहरुको बुझाई छ । फलस्वरुप नेपालमा समेत पछिल्ला दिनहरुमा एग्रो भिलेज, फार्म स्टेको अवधारणाले मूर्त रुप पाउन थालेको हो ।
कृषिलाई पर्यटनसँग जोडेर काम गर्दा दुवै व्यवसाय एक आपसमा परिपुरक हुने हुँदा बढी व्यावसायीक सफलता पाउन सहज हुने आचार्य एग्रो टुरिजम भिलेजका अध्यक्ष बैकुण्ठप्रसाद आचार्यको तर्क छ ।

आचार्य एग्रो टुरिजम भिलेज नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका स्थित थापागाउँमा कृषि र पर्यटन दुवै क्षेत्रलाई समेटेर एकिकृत ढंगबाट सञ्चालन गर्न लागिएको मोडेल प्रोजेक्ट हो । प्रोजेक्टले करीब १० करोड रुपैयाँको लगानीमा एग्रो टुरिजम भिलेजको अवधारणा अनुसार काम थालिसकेको छ । प्रोजेक्ट अन्तरगत, पशुपंक्षि पालन, तरकारी तथा फलफुल खेती, नर्शरी, होटल र होमस्टे सञ्चालन गरिने छ ।
करीब १ दशक अघिदेखि काठमाडौंको झोरमा करीब २ करोड रुपैँयाको लगानीमा अन्नपूर्ण कृषि अनुसन्धान केन्द्र सञ्चालन गर्दै आएका मुक्तीनाथ पोखे्रल पनि एकिकृत कृषि व्यवसायनै बढी नाफा मूलक र सुरक्षित हुने बताउँछन् ।

अन्नपूर्ण कृषि अनुसन्धान केन्द्रले बाख्रा पालनलाई प्रमुख व्यवसाय बनाएको छ भने तरकारी खेती, च्याउ खेती, लोकल कुखुरा पालन र फार्म स्टेलाई सहायक व्यवसायका रुपमा अघि बढाएको छ । फार्मको अवलोकन भ्रमणमा आएका आगन्तुकहरुको सुविधाका लागि सुरु गरिएको फार्म स्टेले अन्ततः फार्मलाई नयाँ व्यावसायीक मोडमा पुर्याएको पोख्रेलको भनाई छ । हाल उनको फार्मले विभिन्न प्याकेज सहित फार्म स्टे सञ्चालन गरिरहेको छ ।
बाख्रा पालन गर्दागर्दै आफूले जानेका कुरा अरु किसानलाई सिकाउने क्रममा अन्ततः तालिम नै सञ्चालन गर्न थालेका नुवाकोट बेल्कोटका अर्का सिकान अमृत तिवारी पनि एकिकृत मोडल नै बढी लाभप्रद हुने बताउँछन् । करीब ७ वर्ष अघिबाट मजुवा देवी कृषि फार्म सञ्चालन गर्दै आएका तिवारीले विशेषगरी बोयर बाख्रा पालन, कालिज पालन र विभिन्न जातका घाँस खेती गर्दै आएका छन् । फार्म सञ्चालन सँगै तिवारीले बाख्रा पालन तथा घाँस खेतीको तालिम, तालिममा सहभागीका लागी खाने बस्ने व्यवस्था समेत गर्दै आएका छन् । यसले फार्मको खुद नाफामा वृद्धि भएको उनको अनुभव छ ।
पोखरा हेमजा स्थित मिना गुरुङको ‘माया इको भिलेज’, कैलाली दौलतपुरका केरा प्रडक्टका अभियन्ता कालु हमालको एग्रो रिसोर्ट कृषिको जगमा शुरु गरिएको पर्यटन व्यवसाय हुन् ।

कृषिलाई पर्यटनसँग जोडेर सँगसँगै अघि बढाउने हो भने यसमा अथाह सम्भावना भएको उनीहरुको तर्क छ । तर, सरकार यस विषयमा संवेदनशील देखिएको छैन । कृषि र पर्यटन दुई फरक मन्त्रालय अन्तरगत पर्छ । कृषि, पर्यटन र अर्थ मन्त्रालयसँग एक आपसमा समन्वय नभएका कारण व्यवासयीका लागि भने अझै अनिश्चितता रहेको उनीहरु बताउँछन् ।
नेपालको अधिकांश जनता कृषिमा अश्रित छन् । तर, विद्यमान कृषि प्रणालीका कारण नेपालको उत्पादनले देशको खाद्यान्नको माग धान्न सकिरहेको अवस्था छैन ।

माग धान्न नसकेकै कारण कृषि प्रधान देश नेपालले वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न आयात गरिरहेको छ । माग अनुरुप खाद्यान्न उत्पादन नहुनु, बेरोजगारी बढ्दै जानु, व्यावसायिक कृषिमा भविश्य खोज्नेहरुको लगानी दिनप्रतिदिन डुब्दै जानुले आगामी दिनहरुमा नेपाल खाद्य संकटको चपेटामा पुग्न सक्ने विज्ञहरुको अनुमान छ ।
नेपाल हावापानी र भूगोलका हिसावले जलविद्युत, कृषि उद्योग र पर्यटनमा ठूलो सम्भावना बोकेको देश हो । यसमध्ये जलविद्युत क्षेत्रमा ठूला लगानीहरु थपिइरहेका छन् भने पर्यटनमा पनि ठूलो संख्यामा व्यवसायीहरु आवद्ध छन् । तर, कृषि क्षेत्रमा लगानी बढ्दै गए पनि किसानहरुले अपेक्षित सफलता पाप्त गर्न सकेका छैनन् ।

नेपालमा कृषि क्षेत्रमा थपिने लगानीहरु मुलतः ३ किसिमका रहेका छन् । पहिलो किसिमका लगानीकर्ताहरु अरु विकल्पमा पहुँच नभएको वा परम्परागत रुपमा कृषि पेशा अपनाउनेहरु छन् भने दोस्रो किसिमका लागानीकर्ताहरु देखासिकी र लहैलहैमा यस क्षेत्रमा आउने छन् । तेस्रो किसिमका लगानीकर्ताहरु भने यी दुई किसिमका लागानीकर्ताहरु भन्दा भिन्न छन् । देशमा कृषि उपजको माग र आपूर्तिको अनुपात अध्ययन गरेर व्यावसायिक योजना सहित लगानी गर्नेहरु तेस्रो किसिमका लगानीकर्ता हुन् ।
के हो एग्रो टुरिजम ?

एग्रो टुरिजम कृषिमा आधारित पर्यटन व्यवसाय हो । जहाँ आगन्तुकहरु कृषि फार्मको अवलोकन, भ्रमणका साथै, मनोरन्जनका लागि आउँछन् । फार्ममा उपलब्ध सामग्रीबाट पकाइएको खाना खान्छन् र बस्छन् । केही फार्महरुले भने ग्राहकको माग अनुसारका अन्य सुविधाहरु समेत थपेका हुन्छन् । फर्कने बेलामा आगन्तुकहरुले फार्ममै उत्पादित वस्तुहरु खरिद गरी कोशेलीका रुपमा लैजाने वातावरण तयार गरी बढी आर्थिक उपार्जन समेत गर्न सकिन्छ । यसबाट कृषि फार्मको आयमा बढोत्तरी हुन्छ भने आन्तरिक तथा वाह्य पर्यटकले नयाँ किसिमको अनुभूति गर्न पाउँछन् ।