काकाकुल काठमाडौंलाई मेलम्चीको तिर्खा

समाचार डेस्क July 17, 2020
काकाकुल काठमाडौंलाई मेलम्चीको तिर्खा

साउन २, नुवाकोट ।

व्यापक चर्चा र महत्वकांक्षी योजनाका साथ शुरु भएको मेलम्ची खानेपानी आयोजनाले तीन दशक नाघिसक्दा काठमाडौंबासीका लागी मेलम्चीको पानी तृष्णामै सिमित भएको छ ।

तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ को संसदिय निर्वाचनमा दिएको मेलम्चीको पानीले काठमाडौंको सडक नै धोइदिने अभिब्यक्तिको ठूलै प्रचार भयो ।

शुरुदेखि नै ठेकेदार विवाद, प्रभावित क्षेत्रका बासिन्दाको बिरोध, आयोजनाको नाममै विवाद, राजनीतिक भागबण्डामा बेमेल, दातसँगको विवाद, जस्ता विवादै विवादबीच जसोतसो बामे सरिरहेको आयोजनाको पानी निर्माण शुरु भएको २२ वर्ष वितिसक्दा पनि काठमाडौंबासीले चाख्न पाएका छैनन् ।

शुरुमा यो आयोजना सन् २००४ मा सक्ने लक्ष्य राखिएको थियो । तर, समयमै काम शुरू हुन नसके पछि सन् २००८ मा निर्माण कम्पनिसँग फेरी अर्को सम्झौता गरिएको थियो । उक्त सम्झौता अनुसार सन् २०१४ सम्म आयोजना सम्पन्न भइसक्नुपर्ने थियो । सन् २०२० मा आएर बल्ल राजधानी बासीको मेलम्चीको पानी पिउने आशा जागेको बेला मेलम्चीले अर्को दुर्घटना बेहोर्नु परेको छ ।

सरकारले मेलम्ची प्रति जनताको दशकौंदेखिको अन्यौल हटेको र सम्पूर्ण नेपालीमा गौरवको अनुभूति गराएको विज्ञप्ति जारी गरेको दश दिनमै आयोजनाको मुहान नजिकैको १७ नम्बर ढोका फुटेर इन्जिनयर सहित दुईजना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् । असार ३० गते भएको उक्त दुर्घटनामा आयोजनाका इन्जिनियर सतिस गोइत र सवारी चालक राधाकृष्ण थापा मगर अझै पनि बेपत्ता भइरहेको अवस्था छ ।

साइट इन्जिनियर शेखर खनाल र साइट असिस्टेण्ट प्रेमबाहादुर तामाङ घाइते भएका छन् । उनिहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

आयोजनाले गत असार २१ गते परिक्षणका लागि सुरुङमा पानी पठाएको थियो । सोही अवसरमा खानेपानी मन्त्री बिना मगरले पत्रकार सम्मेलन गरी आयोजना छिट्टै उद्घाटन गर्ने उद्घोस समेत गरिन् ।

तर, सरकारको गौरवको आयोजनाको गौरव १० दिन पनि टिकेन । उद्घाटन नै नगरी मुहान नजिकैको गेट भत्किए पछि फेरी काठमाडौ बासीका लागि मेलम्चीको तिर्खा लम्बिएको छ ।

मन्त्री मगरको अभिव्यक्ति जस्तो आयोजना प्रति उपत्यकाबासीको अन्यौलको अन्त्य भएन बरु अन्यौल थपिएको छ । परिक्षणको क्रममै भएको दुर्घटनाले आयोजना कसरी अघि बढ्छ भन्नेमा शंका देखिएको छ भने निर्मित संरचनाको गुणस्तरप्रति प्रश्न उठेको छ ।

मेलम्चीको पानी हरेकजसो आम निर्वाचनमा काठमाडौंका मतदातासँग भोट माग्ने सुत्र बन्यो । तर, निर्माण शुरु भएदेखि नै कर्मचारी भर्ना तथा फेरबदल र ठेक्कापट्टा जस्ता विषयमा विभागीय मन्त्री मुछिँँदै आए । आयोजनाको साधनस्रोत दुरुपयोगको आवज पटक पटक उठ्दै आयो ।

राजनीतिक हस्तक्षेपकै कारण निर्माण कार्य शुरु भएयता आयोजनाको १३ जना कार्यकारी निर्देशक परिवर्तन भए । शाही शासनकालमा तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवा देखि भौतिक योजना मन्त्री गोपालमान श्रेष्ठमाथी भ्रष्टाचारको मुद्दा लाग्यो । पहिलो संविधानसभा चुनाव पछि बनेको नेकपा माओबादीको एलकौटी सरकारको भौतिय योजना मन्त्री हिसिला यमी पनि कर्मचारी फेर बदलको विवदमा मुछिइन् ।

त्यसपछि पनि मेलम्ची खानेपानी आयोजना केही न केही विषयमा बिवादमा आइनै रहेको छ ।
सरकारले बनाएको दिर्घकालिन योजनाको पहिलो चरणमा मेलम्चीको पानी सुरुङमार्ग हुँदै सुन्दरीजलसम्म ल्याउने, दोस्रो चरणमा उपत्यकामा वितरण गर्ने र तेस्रो चरणमा सोही सुरुङबाट याँग्री र लार्के खोलाबाट थप ३४ करोडगरी दैनिक ५१ करोड लिटर पानी उपत्यका ल्याउने रहेको छ ।

मेलम्ची खोलालाई काठमाडौं उपत्यकाको पानीको स्रोतका रूपमा बेलायती अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पाटनर्सले पहिचान गरेको ३२ वर्ष बितेको छ । यस बीचमा मेलम्ची खानेपानी योजना केवल राजनीतिक दाउपेचको अखाडा बन्न पुग्यो ।

आयोजनाको सुरुङ निर्माणमा मात्र तीनओटा कम्पनी फेरिइसकेको छ । सुरुमा सन् २००९ मा चाइना रेल वे १५ ब्युरो ग्रुप जेभीले २०१३ मा पूरा गर्ने गरी काम सुरु गरेको थियो । तर स्थानीय विवाद, ठेकेदारको ढिलासुस्ती र राजनीतिक हस्तक्षेपजस्ता कारणले कामै नभई समय बित्यो ।

तोकिएको समय भन्दा १ वर्ष बढी म्याद थपिए पनि काम हुन नसकेपछि २०७० सालमा उक्त सम्झौता तोडेर इटालीको सीएमसी कम्पनीले ठेक्का पायो । तर, २०७५ पुसमा सीएमसीले पनि एकतर्फी रुपमा सम्झौता तोडे पश्चात मेलम्चीको काम फेरी थाती बस्यो । २०७६ असोजमा सुरुङ र हेडवक्र्सको कामको जिम्मा १५ महिनामा सक्नेगरी चीनको सिनो हाइड्रोलाई दिइयो । सोही सम्झौता अनुसार सिनो हाइड्रोले काम गरिरहेको छ ।

प्रतिदिन ५१ करोड लिटर पानी राजधानी पठाउने प्राविधिक तयारीअनुसार निर्माण भएको २७ किलोमिटर सुरुङबाट हाल १७ करोड लिटर पठाउने तयारी भइरहेको छ । समयमै काम शुरु हुन सकेको भए यतिबेला काठमाडौंको खानेपानी समस्या धेरै अघि समाधान भइसक्ने थियो । तोकिएकै समयमा काम सक्नु भनेको लागत कम गराउनु पनि हो ।

आयोजना ढिला भएका कारण थपिने ऋणको भार अन्ततः नेपालीकै टाउकोमा थुप्रने हो । आयोजनाको कूल लागत २७ अर्ब ७६ करोड रुपैँया रहेको छ । आयोजनाको कूल लागतमा सवैभन्दा वढी ४२ प्रतिशत एशियन डेभलपमेन्ट बैङ्कको ऋण सहयोग रहेको छ ।

एडिवी वाहेक आयोजनामा जापान सरकार, जापान इण्टरनेशल बैङ्क कोअपरेशन , नोर्डीक डेभलपमेन्ट फण्ड र तेल निर्यातकर्ता राष्ट्रहरुको सङ्घ आदि को ऋण सहयोग रहेको छ । यी राष्ट्रहरुको ऋण सहयोग बाहेक २० प्रतिशत नेपाल सरकारको लगानी छ ।

बाह्य स्रोतबाट पानी आपूर्ति हुन नसकेपछि काठमाडौं उपत्यकामा भुमिगत पानी उपयोग तीब्र भएको छ । क्षमता भन्दा बढी दोहन भएका कारण भुमिगत पानीको सतह वर्षेनी एक मिटरका दरले घट्दै गएको भूगर्भविद्हरु बताउँछन् ।

अहिले पानी आपुर्तीका लागि उपत्यकाका प्रायः प्रत्येक घरले बोरिङ, ट्युववेल वा इनारको स्रोत प्रयोग गरिरहेका छन् । तर, बढ्दो शहरीकरणले सतहको पानी जमिन भित्र पस्न पाएको छैन । यसले गर्दा कुनै समय पौडी खेल्न मिल्ने बागमती र विष्णुमती जस्ता उपत्यकाका नदिहरुमा अहिले ढलको फोहर बगाउने पानीसमेत छैन ।

यदि मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने हो भने त्यसले भुमिगत जलस्रोत र नदिनलामा समेत पानीको सतह बढ्ने जलस्रोतविद्हरुको तर्क छ ।

काममा भएको ढिलासुस्तीले मेलम्चीको पानी वास्तबमा नै काठमाडौंमा वितरण हुन थाल्दा यसबाट हुने आपूर्तिले काठमाडौंको माग धान्न नसक्ने जलस्रोत विद्हरुको विश्लेषण छ । यद्यपि जे जस्तो समस्या भएपनि अहिलेका लागि काठमाडौं उपत्यकामा खानेपानी आपुर्तिका लागि मेलम्ची नै उपयुक्त विकल्प हो । किनकी काठमाडौंको माग कुनै पनि साना आयोजनाले पुर्ति गर्न सक्दैन ।

उपत्यकाको बढ्दै गएको जनघनत्व र बढ्दो खानेपानीको हाहाकार कम गर्न आपूर्तिका सबै विकल्पहरु अपुग भएका छन् । हाल काठमाडौं उपत्यकामा दैनिक ४१ करोड लिटर खानेपानीको माग छ ।

त्यसमध्ये काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी संस्थान र निजी व्यवसायीहरुले गरी मागको ५५ प्रतिशत हाराहारीमा मात्र आपुर्ति गरिरहेका छन् । यस्तोमा अर्वौ रुपैयाँ खर्च भइसकेको र एक मात्र सहज स्रोत मेलम्चीलाई यथासम्भाव छिटो उपत्यका छिराउनुको विकल्प छैन ।

तर, यसो भन्दै गर्दा बनेका र अब बन्ने भौतिक संरचनाको गुणस्तरमा भने कुनै पनि किसिमको सम्झौता स्विकार्य हुनेछैन ।