‘यो वर्ष बाँचौँ, टिका र आशिर्वाद अर्को वर्ष थापौँला’

समाचार डेस्क October 19, 2020
‘यो वर्ष बाँचौँ, टिका र आशिर्वाद अर्को वर्ष थापौँला’

कस्तो छ यहाँलाई ?
स्वास्थ्यमा विस्तारै सुधार हुँदै गएको छ । सुरुका दिनमा बोल्न समेत गाह्रो हुन्थ्यो । अहिले निकै हदसम्म स्वास्थ्यलाभ भइरहेको अनुभव गरिरहेकी छु ।

आफू संक्रमित भइसके पछि कोरोना के रहेछ जस्तो लाग्यो ?
कोरोना सोचे जस्तो सजिलो छैन र एकदमै डरलाग्दो पनि होइन रहेछ । तर, त्यसो भन्दैमा यसले केही गर्दैन भन्ने चाँही होइन । यसलाई सामन्य रुपमा लिएकै कारण अहिले देशभर तिब्र गतिमा संक्रमण फैलिरहेको छ । म आफू पनि त्यसको सिकार भएँ ।

कोरोनासँग लड्दै गर्दा मैले विभिन्न किसिमका अनुभव गरेँ । कोरोना मात्र सम्पूर्ण रोग होइन । तर, यसले अरु रोगसँग मिल्न पायो भने जटिल समस्या निम्त्याउँदो रहेछ । ति रोगहरु पहिचान गरेर समयमै उपचार गर्ने र अरुलाई संक्रमण नफैलियोस् भनेर आफू आइसोलेट भएर बस्नु नै सबैभन्दा उत्तम विकल्प हो ।

 

कोरोना आत्तिई हाल्नु पर्ने जस्तो जटिल पनि होइन तर, हेलचेक्र्याईँ गरेर बस्यो भने त्यसले ज्यान पनि लिन सक्छ । त्यसैले आफूलाई जे समस्या देखिएको छ त्यसको उपचार गरिहाल्नु पर्छ । यदि समयमा उपचार भएन भने निहुँ कोरोना हुन्छ र ज्यान अरुनै कारणले जान सक्छ ।
आफ्नो शरिरमा देखिएका समस्याहरुलाई क्रमशः निको पार्दै गयौँ भने र सुरक्षाका उपायहरु अपनाउँदै गयौँ भने कोरोनालाई अवश्य जित्न सकिन्छ । त्यसैले हल्लाको पछि लाग्ने होइन आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित रहने वातावरण तयार गर्नु नै सबैभन्दा बुद्धिमानी हुनेछ ।

देश कोरोना संक्रमणबाट जकडिँदै गरेको अवस्थामा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै जना आइसोलेशनमा हुनुहुन्छ, गाउँपालिकाको काम काज पनि प्रभावित भएको होला ?
अहिले अध्यक्ष म लगायत कार्यलाय सहयोगी, एम्बुलेन्स चालक देखी शिक्षक समेत गरेर १० जनामा कोरोना संक्रमण देखिएको छ । हामीहरु अहिले आइसोलेशनमा छौँ । त्यसले गर्दा गाउँपालिकाको कामकाजमा समेत प्रभाव परेको छ ।

अरु कामहरुका लागि निमित्त दिएर पनि गर्न सकिन्छ भने न्यायिक समितिका थुप्रै मुद्दाहरु अड्किएर बसेको अवस्था छ । जसलाई अन्य विषयमा जस्तो कार्यबाहक दिएर प्रकृया अघि बढाउन सकिँदैन । समयमै मुद्दाको छिनोफानो गर्न नसक्दा पिडितलाई थप पिडा भइरहेको महशुस भएको छ ।

त्यसैगरी दशैंअघि नै भुक्तानी गर्नुपर्ने आयोजनाहरु धेरै थिए । यस्ता आयोजनाहरु अनुगमन हुन सकेका छैनन् । अनुगमन रिपोर्ट न आएका कारण भुक्तानी पाउनेले पाएका छैनन् । दशैंको मुखमा काम गरेको पैसा नपाउँदा धेरैलाई समस्या परेको छ ।

तर, यो सवै परिस्थितीका कारण सृजना भएको समस्या हो । हामी चाँढैनै निको भएर नियमित कामकाजमा फर्कने छौँ । यहाँहरु सबैले बुझ्नुहुन्छ भन्ने लागेको छ ।

समय वित्दै जाँदा मानिसमा कोरोनालाई हेर्ने दृष्टिकोणमा फरक आएको देखिन्छ, यस्तोमा कसरी अघि बढ्नु उचित हुन्छ ?
सबैभन्दा समस्यको विषय नै यहि हो । देशमा कोरोना संक्रमण दर र समय जति बढ्दै गयो यसलाई हेर्ने दृष्टिकोण पनि फेरिँदै गएको छ । डब्ल्युएचओको मापदण्ड अनुसार सरकारले कोरोना संक्रमण भएका मानिसको पहिचान गोप्य राख्ने निर्णय गर्यो ।

तर, त्यसले पनि एक किसिमको समस्या ल्यायो जस्तो लाग्छ । किनभने, कोरोना संक्रमण भएका मानिसहरुको अनुभव साटासाटको अवस्था भएको भए धेरैले यस बारेमा पहिला नै अझ बढी थाहा पाउँथे र सुरक्षित हुन मद्दत पुग्थ्यो जस्तो लाग्छ ।

र अर्को कुरा शुरुका दिनमा कोरोना पोजेटिभ देखिने वित्तिकै समातेर लैजाने र अस्पतालमा भर्ना गर्ने गरियो । पछिल्लो समयसम्म आईपुग्दा त्यो गलत रहेछ भन्ने पुष्टि भएको छ ।

फेरी सामान्य संक्रमितहरुले अस्पताका बेड भरिँदा जटिल समस्या भएकाहरुले बेड नपाउने अवस्था पनि आयो । तर, कोरोना पुष्टि भए पछि नआत्तिइकन आत्मबल बलियो बनाएर, चिकित्सकको निगरानीमा, सुरक्षित तबरले घरमै बस्ने हो भने कोरोना विस्तारै निको हुन्छ ।

रोगले भन्दा शोकले मानिसलाई सिथिल पार्छ । त्यसैले घरमै बस्दा विरामीको आत्मबल बलियो हुन्छ । जटिल अवस्थाका विरामीले मात्र अस्पताल जाँदा हुन्छ ।

म आफू पनि जटिल अवस्था हुँदाहुँदै पनि कोरोना जित्नसक्छु भन्ने आत्म विश्वासका साथ चिकित्सकको निगरानीमा घरमै बसेको हुँ । अहिले क्रमशः ठिक हुँदै पनि गएको छु । अवका दिनमा हामी अवस्था अनुसारको व्यवस्था मिलाउने कोशिस गर्ने छौँ ।

नजिकै नेपालीहरुको प्रमुख चाढबाड आइरहेका छन्, आइसोलेशनबाटै के भन्न चाहनुहुन्छ ?
दशैं तिहार जस्ता चाढ पर्व निजिकै आइसकेको अवस्था छ । सँगसँगै नेपालमा कोरोना संक्रमण दर पनि दिन दुगुना रात चौगुना बढ्दै गइरहेको छ । यस्तोमा हामीले सबैभन्दा पहिला बाँच्ने र बचाउने तर्फ लाग्न जरुरी छ ।

हामीले यो वर्ष आशिर्वाद दिने व्यक्तिहरु बचाउन सकेको खण्डमा टिका र आशिर्वाद त अर्को वर्ष थाप्दा पनि हुन्छ । क्षण भरको रमाइलोले जीवनभर पछुताउनु पर्ने गरी चाढ मनाउनुको कुनै अर्थ रहँदैन । त्यसैले तडक भडक भन्दा पनि जो जहाँ छ, त्यहिँ र जे छ त्यहिले दशैं मनाऔँ ।

आफू सुरक्षित भए परिवार सुरक्षित हुन्छ, परिवार सुरक्षित भए, टोल छर छिमेक सुरक्षित हुन्छ । सबैले सुरक्षा उपाय अपनाउने हो भने हामीले चाँढैनै कोरोनालाई परस्त गर्न सक्छौँ ।

यो महामारीमा जनतानै सरकार हो र सरकार पनि जनतानै हुन् । आफ्नो विवेक गुमाउनु हुँदैन । मुख्य कुरा संक्रमण नभएकाहरुले अत्यधिक सचेत रहनुपर्छ र संक्रमण भयो भने मनोबल उच्च राख्नुपर्छ ।
अन्तमा यहाँहरु सबैको दशैं शुभ रहोस्, हामीहरु सबैमा कोरोना जित्ने सहास मिलोस्, सबैलाई विजयादशमीको शुभकामना ।