नआउने भयो मुस्ताङबाट च्याङ्ग्रा, खसी बोकाको मूल्य बढ्ने

समाचार डेस्क October 19, 2020
नआउने भयो मुस्ताङबाट च्याङ्ग्रा, खसी बोकाको मूल्य बढ्ने

कात्तिक २, काठमाडौं ।
यो वर्ष दर्शैमा मुस्ताङबाट च्याङ्ग्रा नल्याइने भएको छ । विगतका वर्षहरुमा दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको हो। कम्पनीले एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको पनि गत वर्षको तुलनामा मूल्य बढी पर्ने भएपछि यो वर्ष मुस्ताङबाट च्याङ्ग्रा नल्याउने निर्णय गरेको बताएको छ।

बजार मूल्य नियन्त्रणका लागि हरेक वर्ष सरकारी कम्पनी आफैँले दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्रीवितरण गर्दै आएको थियो । बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउनु उचित देखिएका कारण यो वर्ष खसी बोकाको मात्रा विक्री गर्न लागिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिएकी छिन् ।

अघिल्ला वर्षहरुमा मुस्ताङकै उत्पादन बाहेक तिब्बतबाट समेत च्याङ्ग्रा नेपाल ल्याइन्थ्यो । यो वर्ष कोरोनाका कारण तिब्बतबाट समेत ल्याउन सकिएको छैन, उनले भनिन् । कोरोना संक्रमणका कारण खसीबोका संकलनमा समस्या हुनुका साथै च्याङ्ग्रा पनि नआउने भए पछि यो वर्ष खसीबोकाको मूल्य भने बढ्ने कम्पनीले बताएको छ । अघिल्ला वर्षहरुमा कम्पनीले बजार भाउ भन्दा केही कम दरमै खसीबोका विक्री गर्दै आएको थियो ।

कम्पनीले यो वर्ष दाङ र मकवानपुरबाट खसीबोका ल्याइरहेको छ । दुवै स्थानबाट ल्याइएका खसीबोका सोमबार बिहान ८ बजेदेखि थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट विक्री खुल्ला गरिने छ । कम्पनीले अहिले सम्म मूल्य निर्धारण भने गरिसकेको छैन । उपत्यका भित्र्याउने सबै खसीबोका ल्याएपछि मात्र मूल्य निर्धारण गरिने न्यौपानेको भनाई छ ।