आइपिएलमा राजस्थानको चामत्कारिक जित

आइपिएलमा राजस्थानको चामत्कारिक जित

१२ असोज ,राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमानी जित निकालेको छ । राजस्थान रोयल्सका केहि ब्याटसम्यानको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो ।

शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय २३ रन  बनायो । जसका लागि मयंक अग्रवालले ५० बलमा १० चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक १ सय ६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । तेस्तै के एल राहुलले ५४ बलमा ६९ रन र निकोलस पुरनले ८ बलमा २५ रनको योगदान दिए ।

बलिंग तर्फ राजस्थानका टम करनले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । अंकित राजपूतले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । राजस्थानका अन्य बलरले विकेट लिन सकेनन ।

जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आइपिएल इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल हो ।

यसअघि आइपिएलमा सर्वाधिक रन चेशको कीर्तिमान पनि राजस्थानकै नाममा थियो । राजस्थानले सन् २००८ को आइपिएलमा डेकन चार्जर्सविरुद्ध २ सय १५ रनको लक्ष्य पूरा गरेको थियो ।

२२४ रनको विशाल लक्ष्य पुरा गर्न राजस्थानका तर्फबाट संजु शामशनले ४२ बलमा ८५ रनको बिशाल र धुवादार पारी खेले। त्यस्तै स्टेभन स्मिथले २७ बलमा ५० रन र राहुल तेबाटियाले ३१ बलमा ५३ रनको उत्कृष्ट इनिंग खेले । बलिंगमा आफ्नो जादु देखाउन नसकेका जोफ्रा आर्चरले ३ बलमा २ छक्का सहित १३ रन बनाए ।

पन्जाबका बलर शामीले राजस्थानका ३ ब्याटसम्यानलाइ पेभिलियनको बाटो देखाए पनि आफ्नो टिमलाइ हारबाट जोगाउन सकेनन । त्यस्तै जेम्श निशमले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए भने शेल्डन कटरेलले ३ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए ।

पन्जाबले आफ्नो चौथो खेलमा अक्टोबर १ मा मुम्बई इन्डियन्ससँग खेल्ने छ भने राजस्थानले तेस्रो खेलमा सेप्टेम्बर ३० मा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ ।