गृहमन्त्रीको स्कटिंग भ्यानले स्कुटरलाई ठक्कर दियो : नुवाकोटका दुई जना घाइते

समाचार डेस्क August 18, 2020
गृहमन्त्रीको स्कटिंग भ्यानले स्कुटरलाई ठक्कर दियो : नुवाकोटका दुई जना घाइते

२ भदौ,  काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान ९ बजेतिर सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।

गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताएको छ।

दुर्घटनामा स्कुटर चालक नुवाकोटको कविलास गाउँपालिका–१ की २२ वर्षीया लीला थापा र २६ वर्षीया सुदा थापा घाइते भएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । लीलाको दाहिने खुट्टाको गोलीगाँठो सुन्निएको र सुदा थापालाई भने बाहिरी चोट नलागेको प्रहरीले जानकारी दिएको छ । दुवै जना घाइते राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।

दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।