दोस्रो पटक मन्त्रीमण्डल पुनर्गठनको तयारी

News Desk August 17, 2020
दोस्रो पटक मन्त्रीमण्डल पुनर्गठनको तयारी

नेकपा सचिवालय वैठक आज

भदौ १, काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डल दोस्रो पटक पुनर्गठन हुने भएको छ । सत्तारुढ दल नेपाल कम्युन्ष्टि पार्टी भित्रको शक्ति सन्तुलन मिलाउन मन्त्रीमण्डल पुनर्गठनको तयारी भइरहेको नेकपाका एक स्थायी समिति सदस्यले बताएका छन् । मन्त्री मण्डल पुनर्गठन एक साता भित्र भइसक्ने उनको भनाई छ ।

नेकपाका अध्यक्ष द्वय प्रम ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विगत दुई वर्षको अवधिमा पनि संतोषजनक ढंगबाट काम गर्न नसकेका मन्त्रीहरुलाई विदा गरी नयाँलाई अवसर दिने सहमति भएको बताइएको छ । यस अघि गत मंसिरमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीमण्डल हेरफेर गरिएको थियो ।

पछिल्लो समय नेकपा भित्र विवाद चुलिँदै गएको छ । पार्टि भित्रको विवाद चुलिँदै गए पछि साउन २९ मा नेकपा अध्यक्ष दहाल ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । त्यस अघि करीब एक सातादेखी दुई अध्यक्षबीच भेटघाट हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले नेकपाको विवाद पाँच दिन भित्रै समाधान हुने बताएको भोलिपल्टै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने, अवरुद्ध स्थायी समिति बैठक सुरु गर्नुपर्ने र त्यो नभए केन्द्रीय समिति बोलाउनुपर्ने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री ओलीले भने कुनै पदबाट पनि राजीनामा नदिने बताउँदै आएका छन् । यही कारणले नेकपामा बिगत लामो समय देखि विवाद बढेको हो ।

नेकपाले अध्यक्ष द्वयको भेटघाट पछि पार्टि भित्रको जारी विवाद समाधान गर्नका लागि सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिने भएको छ । कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले माग गरे बमोजिम अध्यक्षद्वय केपी ओली र प्रचण्ड बैठक बोलाउन सहमति भएका हुन् ।

ओली र प्रचण्डको सहमतिमा पार्टीभित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाइएको थियो । विष्णु पौडेलको संयोजकत्वमा बनेको समितिमा भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य छन् । पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन प्रधानमन्त्री ओलीले दोस्रो पटक मन्त्रीमण्डल पुर्नगठनको गृहकार्य अगाडि बढाएको खबर नेपाल समाचार पत्रले छापेको छ ।