अवैध सम्बन्धको जालोमा अल्झिएका भविष्यहरु

News Desk August 12, 2020
अवैध सम्बन्धको जालोमा अल्झिएका भविष्यहरु

साउन २८

दैनिक जसो अखबारहरुमा देशैभरीका अपराधका खबरहरु छापिइरहन्छन् । हत्या, हिँसा, अराजकताले पराकाष्टा नाघेका खबरहरुले आम सर्वसाधारणमा नमिठो अनुभूति दिएर जान्छ । चाहे त्यो साउन २४ गते राती काठमाडौँको गोंगबुमा घटेको घटना होस् या ताप्लेजुङमा भतिजीसँगको अनैतिक सम्बन्धले निम्त्याएको विभत्स हत्याको खबर होस् । यी खबरहरुले केबल सूचना मात्र दिँदैनन् घटनासँग जोडिएकाहरुको भक्तिएको अर्को संसारको बोध गाराउँछ । तर, घटनबाट सृजित समस्याका अर्को पाटो सँधै ओझेलमा पर्ने पर्छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले मंगलबार गोंगबु घटनाको आरोपित चितवन घर भएकी ३७ वर्षिया कल्पना मुडभरी पौडेललाई सार्वजनिक गर्यो । कृष्णबहादुर बोहोराको हत्या प्रकरणमा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अनैतिक सम्बन्धबाट सृजित घटना भएको खुल्न आएको छ । प्रहरीले दिएको जानकारी अनुसार हत्याका आरोपीको विदेशमा भएको श्रीमानसँग सम्बन्ध विगे्रको र बोहोरासँगको अनैतिक सम्बन्ध रहेको बताएको छ । साथै, हत्या जस्तो जघन्य अपराधको अवस्था सृजना हुनुमा त्यस अनैतिक सम्बन्धमा पनि खटपट भएको देखिन्छ ।

बोहोरालाई आफ्नो कोठामा बोलाउँदा आरोपित पौडेल हत्याको योजनाकासाथ बसेको देखिएको प्रहरीले बताएको छ । हतियार चलाएको अवस्था र तरिका प्रोफेशनलको जस्तो देखिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाले सञ्चार माद्यमहरुसँगको कुराकानीमा बताएका छन् । हत्या पश्चात एम्बुलेन्स चढेर चितवन पुगेका आरोपीलाई अन्ततः प्रहरीले निकै चुस्तताका साथ पक्राउ गर्यो ।

शव व्यवस्थापनमा आरोपीको १५ वर्षकी छोरीको समेत सहभागिता खुल्न आएको छ । यद्यपि सानो उमेरका कारण प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । आरोपीको अर्को सानो छोरा पनि भएको बताइएको छ । बाबुआमाको विग्रेको सम्बन्धका कारण आमासँगै बस्दै आएका नाबालकहरुको भविश्य आमा पक्राउ परेपछि भताभुङ्ग भएको छ ।

बाबु रोजगारीका लागि विदेश गएका र आमाको पर पुरुषसँगको अनैतिक सम्बन्धले वर्षेनी थुप्रै बालबालिकाहरु बिचल्लिमा परेका समाचारहरु आउँछन् । त्यतिमात्र नभएर ४५ डिग्रीको गर्मीमा पसिनासँग साटेका एकएक पैसा पोको पारेर पर पुरुषसँग कुलेलाम ठोकेका महिलाहरुको सूची पनि लामै छ । त्यसो त श्रीमतीले वैदेशिक रोजगारीबाट पैसा पठाउन्जेल दुहुनो गाईझैँ पैसा सोहोर्ने र फर्केर आए पछि अनेक लान्छना लगाएर अस्विकार गरेका थुप्रै घटनाहरु सार्वजनिक भएका छन् । यसबाट पनि बालबालिकानै बढी पिडित भएको देखिन्छ ।

केही दिनअघि मात्र सामाजिक संजाल र पत्रपत्रिकामा खुब चर्चा कमाएको बालगृह सञ्चालकको समाचारको नदेखिने पाटो पनि वैदेशिक रोजगारीनै खुल्न आएको छ । बैदेशिक रोजगारीका क्रममा आफू काम गर्ने घरको साहुले आफू माथी जवजस्ती यौन शोषण गर्ने गरेको र त्यसैको फलस्वरुप बच्चा जन्मन पुगेको बच्चाकी आमाले बताएकी छिन् । बच्चा आफूसँगै राखौँ भने परिवार र समाजले स्विकार नगर्ने डरले नाटकिय ढंगबाट बालगृह पुर्याइएको उक्त बच्चा अन्तमा उनकै आमाले जिम्मा लिएकी छिन् ।

यी र यस्ता घटनाहरुले जहिल्यै पनि अर्को एउटा पाटो अन्धकार परिदिन्छ । क्षणभरको आवेश थाम्न नसक्दा सृजना हुने यस्ता घटनाहरुले कम्तिमा २ वटा परिवार भताभुँग हुन्छ । गोगबु घटनामा बोहोरा र पौडेल दुवैको परिवार अस्तव्यस्त भएको छ । यो यस्ता घटनाबाट सृजित अदृष्य पाटो हो । हत्या जस्तो जघन्य अपराधका घटनासँग प्रायः अवैध सम्बन्ध, प्रेम, पैसाको लालसा र अहम् भावना वा इगो जोडिएर आउने गरेको देखिन्छ । पछिल्ला दिनहरुमा अवैध सम्बन्धका कारण हुने हत्या दिनानुदिन बढीरहेको छ । यसबाहेक परिस्थिति जन्य हत्या र अपहरण पछिको हत्या पनि बाक्लै हुने गरेको छ ।

असार ८ गते कैलालीको गोदावरी नगरपालिका ११ मा रहेको ससुराली घर गएका कन्चनपुर पुनर्वासका २४ वर्षिय तेजबहादुर बिष्ट सोही दिन साँझबाट सम्पर्क बिहिन भए । प्रहरीले खोजतलास गर्दै जाँदा असार १२ गते चुरे गाउँपालिका ८ भासुभिरमा उनको शव फेला पर्यो । अन्ततः बिष्टकै श्रीमती लक्ष्मी बडेलाले गोदावरी नगरपालिका १२ का दीपक खत्री मार्फत हत्या गर्न लगाइएको प्रहरी अनुसन्धानबाट खुल्न आयो ।

त्यसैगरी, साउन ५ गतेबाट बेपत्ता भएका भजनी नगरपालिका ९ भुरुवाका नन्दु वादीको श्रीमती निर्मला र उनका प्रेमी दिलिप राजीको मिलेमतोमा हत्या भएको खुल्यो । आफ्नै भतिजो नाता पर्ने राजीसँगको अवैध सम्बन्ध नन्दुले थाहा पाए पछि उनको हत्या गरिएको प्रहरीसँगको बयानमा उनिहरुले स्विकारेका छन् । मृतक नन्दु रोजगारीका शिलशिलामा हुम्लामा बस्दै आएका थिए । १३ वर्ष अघि विबाह भएको नन्दु र निर्मलाका दुई छोरा छन् ।

घटना जुनसुकै होस् तर आमाबाबुले गरेको गल्तिका सजाय निर्दोस बालबालिकाले भोग्नु परेको छ । परिवारमा घटेका यस्ता घटनाले बालबालिकाको वृद्धि विकास र मनोभावमा नकारात्मक आसर पर्ने मनोचिकित्सकहरु बताउँछन् । त्यस्ता घटनाबाट गुग्रिएका बालबालिका एकोहोरो टोलाउने, सामान्य बालबालिका जस्तो हाउभाउ कटाक्ष नहुने, समूहिक खेल आदिमा सहभागी नहुने जस्ता गतिविधि गर्छन् । साथै, कतिपय बालबालिकाको मनमा गहिरोसँग बसेको अपराधिक क्रियाकलापको छापले अन्नतः मानसिक समस्या देखा पर्ने गरेको उनीहरुको भनाई छ ।
बालबालिकाको बाल मस्तिष्कमा बसेको हत्या जस्तो अपराधिक गतिविधीको नराम्रो छापले भोली उहिहरुको भविष्य कस्तो हुने भन्ने प्रश्न पनि टड्कारोसँग उठेको छ । त्यस्ता बालबालिकाको लालान पालन र शिक्षा पनि अर्को चुनौती हो । मुख्य कुरा उनिहरुको अन्तरमनमा दबिएको परिवारसँग विछोडिनुको पिडा र अभिभावकत्व बिहिनतामा हुर्किनुपर्दा उनिहरुमा विकासहुने मनोवृत्ति कस्तो हुन्छ भन्ने प्रश्न पनि उठ्छ ।

किन घट्छ यस्ता घटना ?
आत्महत्यालाई मनोविमर्शकर्ताहरु संकुचित मनस्थितीको उपज भएको बताउँछन् । अधिकतम आत्महत्या प्रेम सम्बन्ध बिग्रँदा, परिवारले अस्विकार गर्दा, अवैध सम्बन्ध खुल्ने डर भए पछि वा व्यवहारिक तनावका कारण हुनेगरेको देखिएको छ । आत्महत्याको सिकार हुनेहरु आफ्नो समस्याबाट बाहिर निस्कनै नसक्ने र त्यो भन्दा बाहेक संसार नै नदेख्ने कारण अन्ततः मृत्यूको बाटो रोज्ने एक अध्ययनले देखाएको छ ।
त्यसैगरी हत्या हुनु भने कुनै समस्याबाट बाहिर निस्कन गरिने क्षणिक निर्णयको उपज हो । कतिपय अवस्थामा भने विवाद बढ्दै जाँदा क्षणिक आवेसमा परिस्थिति जन्य हत्या हुने पनि प्रहरीको भनाई छ । हत्या गर्ने मनसाय नभएको तर हात हालाहालको अवस्थामा एक पक्षको मृत्यु पनि हुने अवस्थासम्म सृजना भएका घटनाहरु पनि हुने गरेको छ ।

त्यसैगरी अनैतिक सम्बन्ध ढाकछोप गर्न र बलात्कार पछि पोल खुल्ने डरमा हुने हत्या पनि नेपालमा बढ्दै गएको छ । गोंगबु हत्याकाण्डको आरोपी त्यति छिटै पक्रन सफल हुनु नेपाल प्रहरीको अनुसन्धान बलियो छ भन्ने प्रमाण हो । तर, अहिलेसम्म निर्मला हत्याकाण्ड जस्ता कतिपय हत्या काण्डहरु अझै पनि रहस्यको गर्भमै छन् ।