सबै किसिमका शैक्षिक संस्था बन्द गर्न निर्देशन

समाचार डेस्क August 4, 2020
सबै किसिमका शैक्षिक संस्था बन्द गर्न निर्देशन

शिक्षक–विद्यार्थी थप अन्यौलमा

साउन २०, नुवाकोट ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोभिड १९को जोखिम बढ्दै गएको भन्दै सबै किसिमका शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला अन्तरगतका केही संस्थागत र सामूदायिक विद्यालयहरु संचालनमा आएको जानकारी प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति मार्फत बन्द गर्न निर्देशन दिएको हो ।
नेपाल सरकारको आधिकारिक निर्णय नआउँदै विद्यालय, कोचिङ सेण्टर तथा ट्युसन सेण्टर जस्ता शैक्षिक संस्थाहरु खुल्न थालेपछि बन्द गर्न निर्देशन दिनुपरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले बताएको छ ।
सदरमुकाम र सहरी क्षेत्रका कतिपय निजी तथा सामूदायिक विद्यालयहरुले साउनको आधाआधीदेखि कक्षा सञ्चालन गर्न थालेका थिए । जिल्लाका सबैजसो स्थानिय तहमा साउन १५ गते देखि शिक्षकहरु विद्यालयमा हाजिर हुने र भदौ १ गते देखि भर्ना शुरु गर्ने निर्णय भएको थियो ।

जिल्लाका अधिकांश विद्यालयहरुले विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै सम्पर्क कक्षा सञ्चालन गर्दै आएका थिए । तर, जिल्ला प्रशासनले भने निर्देशनको अवज्ञा गरी कोही कसैले सञ्चालन गरेमा संक्रमक रोग ऐन अनुसार कारबाही गरिने बताएको छ ।

जिल्ला प्रशासनको निर्देशन अनुसार आफ्नो कार्यक्षेत्रका सबै विद्यालयहरु पूर्ण रुपले बन्द गराइने दुप्चेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेघनाथ रिमालले बताउनु भयो । दुप्चेश्वर गाउँपालिका भित्रका सबैजसो विद्यालयहरुले सम्पर्क कक्षा सञ्चालन गर्दै आएका थिए । ‘हाम्रो कार्य क्षेत्र भित्र अहिलेसम्म पठन पाठन शुरु गरेका छैैनौ । भोली खोल्नु पर्दा सहज होस् भनेर विद्यालय खोल्ने र विद्यार्थीलाई स्वअध्ययनमा परेको समस्या समाधानका लागि वैकल्पिक पद्धतिको शिक्षा र सम्पर्क कक्षा मात्र सञ्चालन गरेका हौं । जिल्ला प्रशासनले पूर्ण रुपमा बन्द गर भन्छ भने हामी बन्द गर्छौै,’ शिक्षा शाखा प्रमुख रिमालले भन्नुभयो । तर, यस अघि सञ्चालन हुँदै आएको वैकल्पिक शिक्षा भने कायमै रहने उहाँको भनाई छ ।

तर, जिल्ला प्रशासनको यो निर्णयले शिक्षक र विद्यार्थीमा थप अन्यौलता बढाएको छ । नेपाल सरकार, स्थानिय तह र जिल्ला प्रशासनको फरक फरक निर्णयले शिक्षक र विद्यार्थीमा अन्यौलता बढाउँदै लगेको दुप्चेश्वर गाउँपालिका स्थित महादेव मा.वि.का प्र.अ.रमेश थापा बताउँछन् । थापाको भनाईसँग सहमति राख्दै सोही गाउँपालिका स्थित रुकमणी मा.वि.का प्र.अ. मुकुन्द थापा भन्छन्, ‘हामीसँग माथील्लो निकायको निर्देशन मान्नु बाहेक अर्को विकल्प छैन । तर, विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिँदै छ ।’

कोभिड १९को संक्रमण रोक्न नेपाल सरकारले लक डाउन गरे पछि कति पय विद्यालयहरुले वैकल्पिक पद्धतिबाट शिक्षण सिकाई गर्दै आएका थिए । तर भौगोलिक रुपमा विकट भएका कारण समूदायमा गएर विद्यार्थीलाई सिकाउनु निकै चुनौतीपूर्ण रहेको शिक्षकहरुले बताउँदै आएका छन् । समुदायमा जाँदा जोखिम बढी हुनुका साथै, विद्यार्थीसँग सम्पर्क गर्न नै कठिन हुने गरेको उनिहरुको भनाई छ । विद्यार्थीहरुले भने समय समयमा फरक फरक निर्णय आउँदा आफूहरु अलमल्लको अवस्थामा पुगेको बताउँदै आएका छन्