गोरु बेचेर हाते ट्रयाक्टर

समाचार डेस्क July 18, 2020
गोरु बेचेर हाते ट्रयाक्टर

साउन ३, नुवाकोट ।
नुवाकोटका किसान भक्त बहादुर तामाङ (तस्बिरमा) ले अचानक जोत्दै गरेको हल गोरु बेचे । सामान्यतया २–३ बाली जोतेको हल गोरुको ३० देखी ४० हजार रुपैयाँ पर्छ । तर, तामाङले १० हजार रुपैयाँमै पठाइदिए । गोरु किन्ने किसान सस्तोमै पाएकामा दंग परेर गोरु धपाउँदै लगे

। दुप्चेश्वर गाउँपालिका वडा नं. ३ दोरदोरेका किसान भक्त बहादुरले भने गोरुको पैसामा अरु पैसा थपेर ७ एचपीको हाते ट्रयाक्टर किनेर ल्याए । ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराउने काममा तामाङलाई दुप्चेश्वर गाउँपालिका समुन्द्रटार स्थित समुन्द्रटार कृषि सहकारी संस्थाले सहयोग गर्यो । आजभोली भक्त बहादुर रोपाईं खेततिर गोरुको पुच्छर होइन ट्रयाक्टरको ह्याण्डल समात्दै गरेको भेटिन्छ ।
भक्त बहादुर एक प्रतिनीधि पात्र हुन् । अहिले देशै भरी गाउँ गाउँमा समेत मिनी टिलरहरु भित्रीएका छन् ।

बदलामा किसानले पाल्दै गरेको गोरुका गोठ भने दिनानुदिन रित्तिँँदै गएको छ । गोरु बेचेर विगत ३ वर्षदेखी हाते ट्रयाक्टर चलाउँदै आएका नुवाकोट समुन्द्रटारकै रामभक्त थापा परिवार सबै शहर बस्न थालेपछि गोरु पाल्न गाह्रो भएको बताउँछन् । ‘गोरु पाल्न पाए त मल पनि हुन्थ्यो तर के गर्नु घरमा काम गर्ने मान्छे छैन । गोठमा बाँधेर मात्र भएन,’ उनले भने । उनी मात्र होइन १ देखी २ हलसम्म गोरु पालिने यस क्षेत्रका अधिकांश किसानको घरमा अहिले ट्रयाक्टर देखिन थालको छ ।

गोरुका तुलनामा ट्रयाक्टरले जोताई गर्दा खेत राम्रो हुने र झार कम उम्रने कतिपय किसानहरुको तर्क छ भने गोरु पाल्न छाडेपछि बाध्य भएर ट्रयाक्टर नै प्रयोग गर्नुपरेको कतिपयको गुनासो छ ।
केही वर्ष यता गाउँ गाउँमा हाते ट्रयाक्टर भित्रने क्रम बढेको छ । समथर भुभाग तथा फाँटहरुमा बढी क्षमताका पावर टिलरहरु सञ्चालमा आए पनि गाउँ गाउँमा भने ५ देखी ९ एचपी सम्मका मिनी टिलरहरु चल्न थालेका छन् । अरुको भर परिरहनु नपर्ने भएका कारण पनि किसानहरु हाते ट्रयाक्टरप्रति आकर्षित भएका हुन् । किसानको चाहना र नेपाल सरकारको कार्यक्रम दुवैले किसानको हात हातमा हाते ट्रयाक्टर पुग्ने अवस्था सृजना भएको हो ।
नेपाल सरकारको वार्षिक कार्यक्रम अन्तरगत प्रदेश सरकारले किसानलाई अनुदान सहयोग गर्दै आएको छ । बागमति प्रदेश, कृषि विकास निर्देशनालयले गत आव २०७६÷७७ मा कृषि ज्ञानकेन्द्र द्वारा ७५ प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गर्यो । यसैगरी नुवाकोटमा ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङ अग्र्यानिक पदमार्ग तथा प्राङगारिक कृषि प्रवर्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा समेत हाते ट्रयाक्टर वितरण गरिएको बताएको छ । त्यस्तै तरकारी जोन तथा पकेट क्षेत्र परियोजना मार्फत पनि जिल्ला जिल्लामा हाते ट्रयाक्टर भित्रिएको छ भने कतिपय किसानले आफैँले किनेर पनि ट्रयाक्टर चलाइरहेका छन् ।

जोत्नका लागी गोरु पाल्ने क्रम घटेसँगै खेतबारीमा रसायनिक मलको प्रयोग बढ्दै गएको छ । रसायनीक मलको प्रयोगसँगै माटोको उर्वराशक्ति नष्ट हुँदै गएकोमा भने किसानहरु चिन्तित छन् । ‘गोरु पालिन्थ्यो र पो खेती सकिए पछि घाँस सोत्तर गर्यो हिउँदसम्ममा खेतबारीमा हाल्ने मल हुन्थ्यो । अब अहिले गोरुको साटो ट्रयाक्टर ल्याका छन्, त्यसले गोबर दिँदैन, अनि के हाल्नु खेतबारीमा ।’ दुप्चेश्वर ६ नुवाकोटकै अर्का किसान लक्ष्मण तामाङले अक्रोश पोखे ।
दुर्गम गाउँमा समेत ट्रयाक्टर पुगे पनि मिस्त्रि नहुँदा कतिपय किसानको धान रोप्ने काम बिथोलिएको छ । ‘मेशिनरी चिज कहिले के हुन्छ कहिले के हुन्छ । बनाउन आफूले जानिदैन वरपर मिस्त्रि छैन ।’ रोपाईंको दिन चलाउँदा चलाउँदै ट्रयाक्टर बिग्रेर तनाबमा देखिएका किसान पर्शुराम धिताल बताउँछन्, ‘धन्न भतिजको ट्रयाक्टर खाली रैछ र रोपाईं चल्यो नत्र सबै खेताला फिर्ता गर्नुपथ्यो ।’ नयाँ चिजप्रतिको आकर्षणका कारण गाउँ भित्रिएको मध्ये करीब १० प्रतिशत ट्रयाक्टरहरु बिग्रिएर थन्किएको अबस्थामा देख्न सकिन्छ ।

अझ धान खेतमा प्रयोग हुने हिले चक्का (पेडी ह्विल) ढुंगामा पर्ने वित्तिकै भाँचिने गरेका कारण अप्ठ्यारो परिरहेको किसानहरुको भनाई छ ।
केही किसानहरु भने ट्रयाक्टरले काममा निकै सहजता ल्याएको बताउँछन् । मकै खेतमा ढोड उखालीरहनु नपर्ने, हिउँदे बालीका लागि खनजोत गर्न निकै सहज हुने उनिहरुको भनाई छ । अझ तरकारी बारीको खनजोतका लागि किसानहरुले हाते ट्रयाक्टर निकै मन पराएको देखिन्छ । पछिल्लो समय ग्रामिण क्षेत्रका कतिपय महिलाहरु समेत ट्रयाक्टर चलाउन थालेका छन् । घरका पुरुषहरु रोजगारीका सिलसिलामा गएपछि महिलाहरु समेत ट्रयाक्टप्रति आकर्षित भएका हुन् ।

डिजेलको तुलनामा हलुका हुने हुँदा महिलाहरुले ५ देखी ७ एचपीसम्मका पेट्रोल इन्जिन मन पराउने बिटीएल कम्पनीको नुवाकोट डिलरका सञ्चालक गोपाल प्रसाद रिमालले बताए ।